नेपालमा कोरोनाको दोस्रो चरणको लहरः ५० वर्षमुनिका सिकिस्त बिरामी अस्पताल भर्ना हुने दर बढ्यो
काठमाडौं, २८ चैत । नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भइसकेको छ ।
पछिल्लो समय नेपालमा औसतमा २ सयका हाराहारीमा कोरोना संक्रमित थपिँदै गएका छन् भने अस्पताल भर्ना हुने सिकिस्त बिरामीको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राखी विभिन्न प्रतिबन्ध लगाउने निर्देशन दिएपनि त्यो लागू भएको अझै देखिँदैन ।
सेप्टेम्बरमा बेलायतमा देखिएको कोरोनाको न्यू भेरिएन्ट नेपाल प्रवेश गरिसकेको अवस्थामा सर्वसाधारणले पनि सावधानी अपनाएको पाइँदैन । जसले गर्दा संक्रमण तीव्र गतिमा फैलिँदै गएको बुझ्न सकिन्छ ।
मंसिर÷पुषतिर नेपालमा कोरोना संक्रमित थपिने दरमा कमी आएको थियो भने सोही समय अन्य मुलुकमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको थियो । विश्वका विभिन्न वैज्ञानिकहरुले पनि कोरोनाको दोस्रो÷तेस्रो लहर सुरु हुन सक्ने भन्दै सचेत गराउँदै आएपनि त्यसलाई पालना नगर्दा आज विभिन्न मुलुकहरुमा दोहोर्याएर तेहर्याएर लकडाउन गरिएको छ ।
भारतसँगको खुला सीमाका कारण नेपालमा सँधै कोरोनाको जोखिम उच्च नै छ । जब भारतमा कोरोनाको लहर सुरु भयो त्यसै समय भारत गएका नेपाली स्वदेश फर्किने क्रम र अव्यवस्थित क्वारेन्टाइन र लापरबाहीका कारण नेपालमा कोरोनाले भयावह अवस्था आयो । अन्य मुलुकको तुलनामा नेपालमा दैनिक संक्रमण दर सयमा मात्रै भएपनि जनसंख्याको तुलनामा यो बढी रहेको विज्ञहरुको आँकलन छ ।
पछिल्लो केहि दिनदेखि नेपालमा दैनिक संक्रमण दर मात्रै बढेको छैन । अस्पताल भर्ना हुने बिरामीको संख्यामापनि वृद्धि भएको छ । शुक्रराज ट्रपिकल अस्पतालका प्रवक्ता एवं सरुवारोग विशेषज्ञ डा. अनुप वास्तोलाका अनुसार नेपालमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको छ ।
हाम्रो डाक्टर न्यूजसँगको कुराकानीमा डा. वास्तोला भने, ‘यो महिना मात्रै अस्पताल भर्ना हुने बिरामीमध्ये ५० वर्ष मुनिका ५० प्रतिशत रहेका छन् । जुन चिन्ताको विषय हो । सुरुका दिनमा ५० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरु सिकिस्त भएर अस्पताल आउनको संख्या बढी थियो भने अहिले उल्टो देखिँदैछ ।’
अहिले समुदायमा पत्ता लागेका संक्रमितमध्ये बढी व्यक्तिहरु संक्रमित भइरहेको हुन सक्ने भन्दै डा. वास्तोलाले समुदायस्तरमै कोरोनाको दोस्रो चरणको लहर फैलिसकेको उल्लेख गरे ।
उनले नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुँदापनि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नु चिन्ताको विषय रहेको बताए । हाल देखिएको कोरोनाको न्यू भेरिएन्टले तीव्र गतिमा संक्रमण फैलाइरहेको हुँदा सावधानी अपनाउनु नै यसको विकल्प रहेको उनको भनाइ छ ।