कोरोना परीक्षण अब जीन एक्सपर्ट विधिबाट, तीन घण्टामै रिपोर्ट आउने
काठमाडौं, २५ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण सेवा सञ्चालनमा ल्याएको छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्ने सेवा सञ्चालनमा ल्याएको हो । यसअघि त्यहाँ पीसीआर विधिबाट मात्रै परीक्षण गरिन्थ्यो ।
‘विहान ९ बजे देखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट कोरोना भाइरसको परीक्षण हुन्छ । स्याम्पल दिएको ३ घण्टामा रिपोर्ट आइसक्छ । यसको रिपोर्ट पनि पीसीआरको जस्तै विश्वसनीय मानिन्छ,’ प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले भने ।
उनले परीक्षणका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक वा अस्पताल को सिफारिस आएको खण्डमा मात्रै यो सेवा लिन सक्ने बताए । प्रयोगशालाले जीन एक्सपर्टविधिबाट कोरोना परीक्षण गर्दा एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।