महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
कञ्चनपुर, २५ चैत । महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
भारतको गुजरातबाट चैत २२ गते फर्केका उनी कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना भएका थिए। उनको उपचारकै क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।
मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ। कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ।
यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट हालसम्म एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।
तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा छन्। मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना संक्रमण देखिएको थियो। रासस