अछाममा भाइरल ज्वरोका बिरामी बढे, सावधानी अपनाउन चिकित्सकको सुझाव
अछाम, २४ चैत । अछाममा भाइरल ज्वरोका बिरामी बढेका छन् ।
पछिल्लो एक सातादेखि निरन्तर भाइरल ज्वरोका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ ।
विगत केही दिनदेखि देशैभर वायु प्रदुषण बढेको र त्यसका कारण अस्पताल आउने बिरामीको संख्या पनि बढेको बताइएको छ ।
जिल्लाका १० वटै स्थानीय तहका घरघरमै भाइरल रोगका बिरामी भेटिन थालेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
भाइरल रोगबाट बालबालिका, बृद्धबृद्धा, विद्यार्थी, गर्भवती महिला, दीर्घरोगी र सञ्चारकर्मी बढी प्रभावित भएका छन् ।
जिल्ला अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको, पेट दुख्ने, बान्ता हुने र रुघाखोकी लाग्ने लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल अछामका डक्टर हितेश खड्काले जानकारी दिए ।
जिल्ला अस्पताल अछाममा मात्रै दैनिक ३० देिख ४० जनासम्म भाइरल रोगका बिरामीहरू उपचारका लागी आउँने गरेका छन् । गएको एक सातमा अस्पतालबाट करिब ३ सय जना भन्दा धेरैले स्वास्थ्य उपचार र जाँच गरेको उनले बताए ।
ग्रामीण क्षेत्रमा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
जिल्लामा भाइरल रोगका बिरामी दिनानुदिन बढिरहेका बेला स्थानीय सरकारले औषधि उपचारको व्यवस्था गर्न नसकेको स्थानीयको आरोप छ ।
गाउँमा धेरै भाइरलका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीले नागरिकलाई सुझाव दिएका छन् ।