काठमाडौं फेरि बन्यो विश्वकै प्रदुषित सहर, घर बाहिर ननिस्कन विज्ञको सुझाब
काठमाडौं, २३ चैत । देशभरि फेरि वायु प्रदुषणको मात्रा बढेको छ। बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो। प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दो क्रममा रहेको वातावरण विभागले जनाएको छ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३ सय ३१ छ र काठमाडौं विश्वकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ।
वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु घातक मानिन्छ ।
विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्। अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवाधुलो प्रदुषण बढेको र अहिलेको अबस्था आएको विज्ञहरूले बताएका छन्।