बैतडीका सबै स्थानीय तहमा ल्याब सेवा, स्थानीयलाई सहज
बैतडी, २२ चैत । ग्रामीण भेगकै स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सञ्चानल आएपछि बैतडीका स्थानीयहरुलाई सहज भएको छ ।
रगत परीक्षणका लागि पनि सदरमुकामा धाउनुपर्ने नागरिकहरुलाई अहिले गाउँकै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन भएपछि सेवा लिन सहज भएको हो ।
अहिले जिल्लाका २१ ठाउँमा ल्याब सेवा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका ल्याब सम्पर्क व्यक्ती एवम् ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए ।
उनका अनुसार दशरथचन्द नगरपालिकामा ३ , पाटनमा ३, पुर्चौडीमा ४ र मैलौलीको २ ठाउँमा ल्याब सेवा सञ्चालनमा रहेको छ ।
यस्तै सुर्नयामा २, पञ्चेश्वरमा ३, सिगासमा २ ठाउँमा सेवा सञ्चालन छन् भन, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र शिवनाथ गाउँपालिकाका १÷१ ठाउँमा ल्याब सेवा प्रवाह भइरहेको छ ।
पञ्चेश्वर गाउँपालिकाको गिरेगडा र सिगास गाउँपालिका बाहेक सबै प्रयोगशालाबाट ल्याब सेवा सञ्चालनमा रहेको ल्याब टेक्निसियन बडालले बताए । ती ठाउँहरुबाट पनि छिट्टै सेवा सुरु गर्ने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
रगत परीक्षण गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोमा ल्याब सेवा सञ्चालनमा आएपछिसहज भएको सुर्नया गाउँपालिका वडा नम्बर ३ की मोती भट्टले बताइन् ।
ल्याब सेवाका लागि समस्या झेलिरहेका ग्रामीण भेगका नागरिकहरुलाई पाइक पर्ने स्वास्थ्य संस्थामा सेवा सञ्चालन भएपछि सहज भएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र विष्टले बताए ।