कोरोना सङ्क्रमित बढ्दै गएपछि पूर्वतयारीका काममा तीव्रता
काठमाडौं, १८ चैत । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले पूर्वतयारीका थप कामहरू थालेको छ । गएको एक हप्तामा मात्रै ३८ प्रतिशतले सङ्क्रमित बढेपछि परीक्षण, उपचार तथा सावधानीका लागि थप तयारी थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधवार बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राख्ने, आइसोलेशन निर्माणका लागि बजेट उपलब्ध गराउने र सङ्घ तथा प्रदेश मातहतका अस्पतालसँगै आधारभूत अस्पतालहरूमा पनि कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरूको आवश्यकताअनुसार परीक्षण, पीसीआर क्षमता बढाउने र क्वरेण्टीनमा राख्ने काम सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ । नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ।
परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ठूलो सङ्ख्यामा मानिसको भेला पूर्णरूपमा रोक्न जुलुस, भिडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।