चितवनको सौराहामा प्रदूषण खतरनाक अवस्थामा
चितवन, १७ चैत । चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । वायुको गुणस्तरको सूचकाङ्क एक्यूआईका अनुसार सौराहामा एक्यूआई ३ सयभन्दा बढी छ ।
यस्तै, काठमाण्डौ उपत्यकासहित अन्य केही सहरमा प्रदूषणको मात्रा खराब अवस्थामा रहेको छ । उपत्यकाका रत्नपार्क, भैँसीपाटी, कीर्तिपुर, भक्तपुर तथा हेटौँडा र धनगढीलगायत सहरमा प्रदूषण खराब अवस्थामा छ । यी सहरमा एक्यूआई २ सयभन्दा बढी देखिएको छ ।
वातावरण विभागले ६ वटा रंगमा विभाजन गरेर प्रदूषणको अवस्थाबारे जानकारी गराउने गरेको छ । हरियो, पहेँलो, सुन्तला रंग तथा रातो, बैजनी र कलेजी रंगले प्रदूषणको मात्रा कुन अवस्थामा छ भन्नेबारे देखाउँछ ।
कलेजी रंगले सबैभन्दा खतरनाक अवस्थालाई जनाउँछ भने बैजनी रंगले धेरै खराब वा धेरै अस्वस्थकर भनेर जनाउँछ । यस्तै, रातो रंगले अस्वस्थकर, सुन्तला रंगले संवेदनशील समूहका लागि अस्वस्थकर तथा पहेँलो रंगले मध्यम र हरियो रंगले वातावरण सफा भन्ने बुझाउँछ ।
वातावरण विभागले केही ठाउँमा सामान्य सुधार देखिए पनि तीव्र गतिमा हावा नचलेको र पानी नपरेका कारण अझै तीन दिनसम्म जोखिमको अवस्था रहेको जनाएको छ । आउँदो तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने र तुवाँलो कायमै रहने विभागले जनाएको छ ।
आज दिउँसोपछि हिजो अस्तिको तुलनामा हावाको गति केही बढ्ने सम्भावना रहेकाले आंशिक सुधार हुने सक्ने मौसमविद्को अनुमान छ । तर, वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले अझै केही दिनको मौसम यस्तै रहने विभागले जनाएको छ ।
प्रदूषणका कणहरु छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । यस्तै विभिन्न ठाउँमा लागिरहेको डढेलोबाट धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गइ असामान्य प्रकारको तुवाँलोको अवस्था आएको हो ।
तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या हुने भएकाले विशेष काम परे मात्रै घरबाहिर निस्कन र निस्कनु परेमा मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।