हेल्थ डेस्क नाकामा परीक्षण गर्दा ४१ जनामा कोरोना पोजेटिभ
काठमाडौं, १५ चैत । भारतबाट नेपाल छिर्दै गरेकाहरुको सिमा नाकामा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो पाँच दिनमा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पोजेटिभ आएको हो ।
पछिल्ला दिनमा हेल्थ डेस्कमा कोरोनासंगै मलेरियाको पनि आरडीटी परीक्षण हुन थालेको छ । शनिबारसम्म २७ जनाको मलेरिया परीक्षण गर्दा पोजेटिभ केश भने देखिएको छैन् ।
भारतमा पछिल्ला दिनमा कोरोना संक्रमणले उचाई लिएको छ । त्यहाँ शनिबार मात्रै ६२ हजार ७ सय भन्दा बढी नयाँ केशहरु देखिएका छन् ।हिजो एक दिनमै ३१४ जनाको कोरोनाबाट ज्यान गएको बताइएको छ ।
भारतमा संक्रमण उकालो लाग्दै गर्दा सरकारले सिमा नाकामा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाएको थियो । पछिल्लो पाँच दिन देखि नाकामा रहेका हेल्थ डेस्कमा एन्टीजेन र आरडीटीबाट क्रमश कोरोना र मलेरियाको जाँच गर्न थालिएको थियो ।
शनिबार १६७ जनाको कोरोना परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखियो । १० जना जमुनाह र एक जना गौरीफन्टा नाकामा । त्यस्तै ज्वरो आएको तर कोरोना नभेटिएको मलेरिया परीक्षण समेत गर्न थालिएको छ । शनिबार मात्रै २००८ स्क्रिनिङ गरिएको छ ।
सरकारले भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, उत्तरप्रदेश लगायतका राज्यहरुमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रबाट आएका नागरिकलाई प्राथमिकताका आधारमा स्क्रिनिङ गर्ने निर्देशन दिएको छ ।