सुदूरपश्चिमका अस्पतालमा उपकरण र जनशक्ति अभाव



Download our app to get more features

धनगढी, १४ चैत । छिमेकी भारतमा जस्तै नेपालमा पनि कोरोना संक्रमण तीव्र फैलिए सुदूरपश्चिम प्रदेशमा स्थिति भयावह हुनसक्ने देखिएको छ। 

सेती प्रादेशिक अस्पताल लगायत प्रदेशका अन्य अस्पतालहरुमा समेत आईसीयू, भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरण र जनशक्ति अभाव अझै कायमै रहेको बताइएको छ। 

संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल र प्रदेश सरकारले सञ्चालन गरेका अस्पतालहरुमा उपकरण र जनशक्ति अभाव रहेको स्वास्थ्य अधिकारीहरुले बताउँदा प्रदेशको स्वास्थ्य सेवाको क्षमतामा सुधार नभएको छर्लङ्ग हुन्छ। 

कोरोना भाइरसको वैश्विक महामारी फैलिएको एक वर्षमा समेत महामारीजन्य रोग नियन्त्रणका लागि उपकरण र जनशक्ति व्यवस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारसँगै संघीय सरकार समेत चुकेको पाइएको छ। 

कोरोना भाइरस महामारी फैलिएर लकडाउन सुरु भएको एक वर्षको अवधि पुरा भएको छ। यो एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ७६ र ज्यान गुमाउनेहरुको संख्या ५६ रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ। 

स्वास्थ्य सेवामा सुधार गरेर करिब ३० लाख जनसंख्यालाई भरपर्दो सेवा दिन प्रदेशमा स्वास्थ्य पूर्वाधारको अवस्थामा सन्तोषजनक काम नभएको पाइएको छ। अन्यत्र झै मुलुकमा दोस्रो चरणको कोरोना संक्रमण फैलिए सोको फैलावट र विस्तारलाई रोक्ने क्षमता प्रदेशको स्वास्थ्य पूर्वाधारले हासिल नगरेको पाइएको छ। 

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुको क्षमतामा विकास गर्न यो एक वर्षको अवधिमा खासै काम नभएको पाइएको छ। प्रदेशभर २९ आईसीयू बेड र २५ भेन्टिलेटर खरिद गरेर अस्पतालहरुलाई वितरण गरेको भएपनि ती उपकरण चलाउन सेती बाहेकका अस्पतालमा जनशक्ति नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन्। 

“जनशक्ति र दरबन्दी अभावका कारण प्रदेशका अस्पतालहरुमा उपकरण भएपनि सो चलाउन नसकिने अवस्था छ,” कार्कीले भने, “तर पनि हामीले कोरोना भाइरस नियन्त्रणका लागि मापदण्ड अनुरुप काम गर्न विगतको अनुभवले समेत सहयोग गर्नेछ।” 

सुदूरपश्चिम प्रदेशका अस्पताल र स्वास्थ्य चौकीहरुमा २ सय ५४ आइसोलेसन बेड रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

तर सेती प्रादेशिक अस्पताल बाहेक अन्य अस्पतालमा सिमित संख्यामा आइसोलेसन बेड रहेको र प्रदेश सरकारले उपलब्ध गराएको दुई थान भेन्टिलेटर समेत चलाउन अस्पतालमा जनशक्ति नभएको बताइएको छ। सेती प्रादेशिक अस्पतालमा भने जनशक्ति भएपनि तीव्र संक्रमण फैलिएमा भने उपकरणको अभाव हुन सक्ने देखिएको छ। 

सेतीमा ५० शैय्याको आइसोलेसन छ तर कोरोनाको लागि भनेर ५ बेड आईसीयू र ५ वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ। अहिले सेती प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ। ती मध्ये ३ जनाको भेन्टिलेटर र एक जनाको आईसीयूमा उपचार भइरहेको छ।

यदि संक्रमणको दर उच्च रहेमा अस्पतालमा भएका उपकरणले धान्न मुस्किल हुने अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालको अवस्था अझै दयनीय रहेको बताइएको छ। डडेल्धुरा अस्पतालमा भवन, उपकरण र दक्ष जनशक्तिको अभाव रहेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा बताउँछन्। 

कञ्चनपुरको महाकाली अस्पतालमा ६ मध्ये एक भेन्टिलेटर बिग्रिएको छ भने आईसीयू बेड एउटा मात्रै रहेको जनाइएको छ। सो अस्पतालमा समेत जनशक्ति नहुँदा भएका थोरै उपकरणबाट उपचार सेवा दिन समस्या हुने देखिएको छ। 

टीकापुर अस्पताल र पहाडी जिल्लास्थित अस्पतालहरुमा समेत दुई दुई थान भेन्टिलेटर भएपनि दक्ष जनशक्तिको अभावमा ती उपकरण प्रयोगमा ल्याउन नसकिने अवस्था देखिएको छ। 

स्वास्थ्य मापदण्ड अनुसार एक भेन्टिलेटरका लागि दुई जना स्टाफ नर्स, सहित फिजिसियन डक्टर र एनिस्थियोलोजिस्ट हुनुपर्ने भएपनि सो मापदण्ड अनुसार सेती बाहेकका अस्पतालमा जनशक्ति नहुँदा कोरोना तीव्र गतिमा फैलिए निकै ठूलो स्वास्थ्य समस्या खडा हुने तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts