स्वास्थ्य मन्त्रालयको अपिल : ‘केही दिन मर्निङवाकमा नजाऔँ, फोहर नजलाऔँ’
काठमाडौं, १४ चैत । उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन अपिल गरेको छ ।
शुक्रवार काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मार्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको भने अहिलेलाई त्यो अवस्था रोक्न अपिल गरेको हो ।
मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।
‘फोहरको उचित व्यवस्थापन गरौँ तर फोहर जलाउने काम नगरौँ । कसैले फोहर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ’, मन्त्रायले विज्ञप्तिमा भनेको छ ।
घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड–१९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि मन्त्रालयको आग्रह छ ।
मन्त्रालयले धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ सवारी साधन नचलाउन पनि आग्रह गरेको छ ।