धनगढीको कोरोना अस्पतालः भेन्टिलेटरमा १ र आईसीयूमा ३ जनाको उपचार हुँदै
धनगढी, १२ चैत । केही समय अगाडिसम्म बिरामी नहुँदा बन्द जस्तै रहेको धनगढीस्थित सेती कोरोना अस्थायी अस्पतालमा पुनः विरामी थपिने क्रम बढेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना ंसंक्रमण दर बढेसँगै नेपालीहरु फिर्ता हुने क्रम बढेको छ । यसैबीच सो अस्पतालमा कोरोना संक्रमितको संख्या पनि थपिन थालेको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुुसार अस्पतालमा ४ जना बिरामी भर्ना भएका छन् । ती सबैमा कडा खालको समस्या देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
४ जनामध्ये ३ जनालाई आईसीयूमा र १ जनालाई भेन्टीलेटरमा राखेर उपचार थालिएको छ ।
बिरामीको अवस्था
सूचना अधिकारी श्रेष्ठका अनुसार भारतको चेन्नाइबाट फागुन २९ गते फर्किएका कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ५ का ५४ वर्षीय पुरुषमा कोरोनाको कडा खालको समस्या देखिएको छ । चैत ९ गते अस्पताल भर्ना भएका उनलाई आईसीयूमा राखेर उपचार थालिएको र अवस्था सुधारोन्नमुख रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, चैत १० गते कोरोनाका २ जना बिरामी भर्ना भएका छन् । धनगढी उपमहानगरपालिका ३ का ५० वर्षीृय पुरुष र धनगढी उपमहानगरपालिका १ का ४४ वर्षीय पुरुष भर्ना भएका हुन् ।
धनगढी उपमहानगरपालिका ३ का ५० वर्षीृय पुरुषमा पनि जटिल समस्या देखिएको छ । सुरुमा आईसीयूमा राखेर उपचार थालिएको उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टीलेटरमा राखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका १ का ४४ वर्षीय पुरुषलाई पनि आईसीयूमा राखिएको छ ।
त्यस्तै धनगढी ३ की ४५ वर्षीया महिलालाई अस्पताल भर्ना गरिएको छ । उनी ५० वर्षीय पुरुषकी श्रीमती हुन् । बुधबार कोरोना पुष्टी भएको ती महिलालाई पनि आईसीयूमा राखिएको छ ।