खस्किदै सेती अस्पतालको सेवाः अस्पताल धाउँदै बिरामीको बित्छ दिन, प्रशासन अनभिज्ञ



Download our app to get more features

धनगढी, १२ चैत । शरीर दुख्ने समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर १० की आरती चौधरी गत आइतबार बिहान सेती प्रादेशिक अस्पताल आइन् ।

उनी बिहान ९ बजे नै अस्पताल पुगेर टिकट काट्न लाइनमा बसिन् । २० रुपैयाँ तिरेर उनले १० बजेर ५० मिनेटमा प्रादेशिक अस्पतालको सेवा लिन टिकट पाइन । टिकटमा ओपीडीको २ नम्बर कोठामा जान लेखिदिएको थियो । लाइनमै बसेर चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएकी उनलाई पुनः ४ प्रकारका परीक्षण गर्न सुझाव दिएपछि टिकट लिएर घर पुगिन् । १ हजार ५ सय ९० रुपैँया तिरर उनले ४ प्रकारका परीक्षणका लागि रगतको नमुना दिइन् । तर सेती अस्पतालको प्रयोगशालाले सबै रिपोर्ट दिएन ।

उनी आइतबार दिनभरी सेती प्रादेशिक अस्पालमै बसिन् । तर रिपोर्ट आएन्, दोस्रो दिन आउन भनियो, उनी आइन् । ४ दिन दैनिक सेती प्रादेशिक अस्पताल आएपनि उनले रिपोर्ट पाउन सकिनन् । शरीर दुखेकाले सिकलसेल एनिमियाको समेत परीक्षण गर्न भनिएको थियो । 

रगतको ग्रुपको समेत २ वटा फरक–फरक रिपोर्ट दिएको प्रयोगशालाले बुधबार सिकलसेल परीक्षणका लागि किट नभएको भन्दै उनलाई अस्पतालले फर्कायो । ४ दिनको अवधिमा उनको ५ पटक रगतको नमुना झिकिएको छ । 

सेती प्रादेशिक अस्पतालको सेवाप्रति आक्रोशित हुँदै भनिन्, “बिरामी उपचार हुने ठाउँ हो कि, दुःख दिने ठाउँ । आज आउँदा भोलि आउनु भन्दा भन्दै ४ दिन भयो ।”

उनी जस्तै धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँका करन बिकले पनि सेती प्रादेशिक अस्पतालमा बुधबार सास्ती पाए । गोरुगाडाबाट खसेर घाइते भएका करनले श्रीमती पटु बिकसँगै अस्पताल आएका थिए । उनको छाती दुखिरहेको थियो । भने हातको औंलामा चोट लागेको थियो। ओपीडीको १ नम्बर कोठामा जान भनेपछि उनी गए । चिकित्सकले एक्सरे गर्न भनेपछि उनले गराए । एक्सरे गर्ने ठाउँमा उनलाई बाहिर मेडिकलमा जान भनियो । साथै जाँचको लागि ओपीडीमा जान भनिएन । 

धनगढी उप–महानगरपालिका वडा नम्बर १ का हरि बिक सेती प्रादेशिक अस्पतालको फार्मेसीको सेवाप्रति दिक्दार छन् । स्वास्थ्य बीमा समेत गरेका उनले बढी मूल्यको औषधि सेतीको फार्मेसीमा नपाएको दुखेसो सुनाए ।

यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हो, ३० लाख सुदूरपश्चिमेलीको स्वास्थ्य सेती प्रादेशिक अस्पतालसँग गाँसिएको छ । तर यहाँको स्वास्थ्य सेवाको गुणस्तर खस्किँदै गएको हो । जसबारे अस्पताल प्रशासन बेखबर बनेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले अस्पतालको प्रयोगशालाको सेवासहित अन्य सेवाबारे जानकारी लिने बताए ।

Last modified on 2021-03-31 09:17:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts