आठ लाख डोज चिनियाँ खोप एक साता भित्र आउँदै
काठमाडौं, ९ चैत । चीन सरकारले अनुदानमा उपलव्ध गराउने भनेको ८ लाख डोज कोरोनाबिरुद्धको खोप एक साता भित्र नेपाल आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाले एक साता भित्र आउने बताएको हो ।
गएको २३ माघमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका थिए । त्यसको केही समय पछि अनुदान दिने डोज संख्या बढाएर ८ लाख पुर्याईएको थियो ।
यता औषधि व्यवस्था विभागले ५ फागुनमा चिनियाँ कम्पनी साइनोफार्मले अन्तरगर्तको कम्पनीले बनाएको खोप ‘सार्स (कोभ (२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आकस्मिक प्रयोग गर्न सकिने भन्दै ससर्त अनुमति दिएको थियो । तर खोप आउन ढिलाई भएको थियो ।
चिनियाँ पक्षले अनुदानको खोपको ढुवानी व्यवस्था नेपाल सरकारले गर्नुपर्ने भन्ने र नेपाली पक्षले उतैवाट व्यवस्था मिलाउनका लागि कुटनीतिक छलफल जारी राख्ने हुँदा खोप आउन ढिलाई भएको हो ।
चिनियाँ खोप लिन सरकारले नेपाल बायुसेवा निगमको वाइडबडी विमान नै पठाउने योजना गरेको समेत बताइएको छ । अनुदानमा खोप र त्यो लगाउन प्रयोग हुने आउने भएको हो ।