डडेल्धुराको जोगबुडामा अस्पतालको फार्मेसी कार्यालय सहयोगीका भरमा
डडेल्धुरा,९ चैत । डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित जोगबुडा अस्पतालले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पाइएको छ। अस्पतालको फितलो व्यवस्थापनका कारण विगत ८ महिनाबाट रेडियोलोजिस्टविहीन बनेको छ।
रेडियोलोजिस्ट नभएकै कारण कार्यालय सहायकले एक्सरे गर्दै आइरहेका छ्न्। यस्तै बिरामीहरूलाई औषधि दिने काम पनि कार्यालय सहयोगीले नै गरिरहेको पाइएको छ। औषधि सम्बन्धी ज्ञानै नभएका व्यक्तिबाट बिरामीलाई औषधि दिइँदा बिरामीको अवस्था झनै बिग्रने अवस्था आउने खतरा बढेको स्थानीयको आरोप छ। अस्पतालको यो अवस्थाका बारेमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र चौधरीसँग बुझ्दा उनल उक्त कुरा स्वीकार गरेका छन्। फार्मेसीको हकमा एक जना मात्रै फार्मासिस्ट भएको र जसका कारण दिनमा र राति एकै जनाले ड्युटी गर्न नसक्ने अवस्था भएको उनले बताए।
नगरपालिकासँग बेला बेलामा अर्को एक जना फार्मासिस्ट र रेडियोलोजिस्टको व्यवस्था गर्न समेत पहल गरिरहेको उनले बताएका छन्। तर उक्त विषयमा नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ।