साउदी अरेबियामा कोरोनाका कारण थप एक नेपालीको मृत्यु
काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एक जना नेपालीको संक्रमणका कारण निधन भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ।
डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।