भारतमा उत्पादित कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति
काठमाडौं, ७ चैत । औषधि व्यवस्था विभागले भारतको ‘कोभ्याक्सिन’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
विभागले कोरोना विरुद्धको खोप विकास गर्ने भारतकै अर्को कम्पनीको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । योसँगै कोभ्याक्सिनलाई अनुमति दिने नेपालको तेस्रो मुलुक पनि बनेको छ ।
विभागका प्रवक्ता सन्तोष केसीले भारतीय कम्पनी भारत बायो–टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोरोना विरुद्धको खोप ‘कोभ्याक्सिन’ लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताए ।
औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार विभागले कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।
आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनले अनुमति पाएको र कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई आकस्मिक अनुमति दिएको केसीको भनाइ छ ।
‘कोभ्याक्सिन’ ले अनुमति पाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी भएका छन् ।
यसअघि भारतकै कोभिसिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेको खोपले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन् ।
प्रवक्ता केसीले नेपालमा कोरोना विरुद्धको खोपको प्रयोगका लागि थप दुईवटा कम्पनी रुसको स्पुतनिक र चिनीया कम्पनी सिनोभ्याक्सले निवेदन दिएको र त्यस विषयमा प्राविधिकि टोलीको अनुसन्धान जारी रहेको बताए ।
भारतकै कोभिसिल्ड खोप नेपालमा अभाव भएपछि खोप अभियान तत्कालका लागि स्थगित भएको बेला कोभ्याक्सिनले पनि अनुमति पाएपछि खोप अभियानमा केही सहज हुने अनुमान गरिएको छ ।