विश्व बैंकले नेपाललाई कोरोना खोप खरिदका लागि ८ अर्बभन्दा बढी ऋण उपलब्ध गराउने
काठमाडौं, ६ चैत । विश्व बैंकले नेपाललाई कोरोना विरुद्धको खोप खरिदका लागि ८ अर्बभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ ।
विश्व बैंकले नेपाललाई कोरोना खोप र महामारीको प्रतिकार्यका लागि ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् झन्डै ८ अर्ब ७० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।
विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा) मार्फत् नेपाललाई ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो ।
यस वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पु¥याउन सक्ने विश्व बैंकले जनाएको छ ।
कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।
यस्तै विश्व बैंकले गत चैतमा २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड रुपैयाँ) बराबरको कोभिड १९ आपतकालिन प्रतिकार्य र स्वास्थ्य तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ कोख खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने भएको छ । बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड–१९ सँग सम्बन्धीत परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिने भएको छ ।
विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एयियाका लागि अभ्यास प्रवन्ध गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक र नेपाल राष्ट्रको आर्थिक स्वास्थ्यको रक्षा गर्न महत्वपूर्ण सावित हुने बताएका छन् ।
विश्व बैंककाअनुसार नेपालका लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो ।
विश्व बैंकले नेपालबाहेक बंगलादेशमा ५० करोड अमेरिकी डलर र अफगानिस्तानमा ६ करोड अमेरिकी डलर बराबरको सहायता समेत घोषणा गरेको छ ।