भारतसँग सीमा जोडिएका नाकामा हेल्थ डेस्क पुःन सक्रिय बन्ने
काठमाडौं, ५ चैत्र । सरकारले भारततर्फका सिमा नाकामा रहेका हेल्थ डेस्कलाई पुनः सक्रिय बनाउने भएको छ । भारतमा कोभिड – १९ को संक्रमण बढ्दो क्रममा देखिएपछि नेपालले सीमा नाकामा रहेका हेल्थ डेस्कलाई पुनःसक्रिय बनाउने भएको हो ।
अहिले भारत तर्फका १४ वटा नाकामा हेल्थ डेस्क राखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पछिल्ला दिनमा भारतमा देखिएको संक्रमणदरलाई बिचार गरी हेल्थ डेस्कलाई थप सक्रिय बनाउन खोजिएको बताए ।
सुदूरपश्चिमको गड्डाचौकी, गौरीफन्टा, नेपालगञ्जको रुपौडिया, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको सुनौली, वीरगञ्जको रक्सोल, विराटनगरको जोगवनी, झापाको मेची भन्सार लगायतका नाकाहरुमा विशेष सतर्कताका साथ रहन भनिएको छ ।
यस्तै, स्थानीय तहलाई क्वारेन्टिनलाई व्यवस्थित गर्न, कन्ट्याक्ट ट्रेसिङलाई थप व्यवस्थित गर्न तथा होम क्वारेन्टिनलाई समेत व्यवस्थित गर्न पनि निर्देशन दिने निर्णय भएको छ।
झण्डै एक बर्ष कोरोना महामारीमा परेको नेपालमा पछिल्ला केही महिनामा संक्रमण दर नियन्त्रणउन्मुख देखिएको छ । तर भारतका विभिन्न राज्यमा संक्रमणले तिब्रता पाएपछि नेपालमा समेत जोखिम देखिन सक्ने भन्दै त्यसको तयारी थाल्न खोजिएको हो ।