कोरोनाको त्रास कम भएपछि डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढे
डडेल्धुरा, ४ चैत । डडेल्धुराका स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ ।
गत वर्ष कोरोना भाइरसको संक्रमणको त्रासका कारण मानिसहरुले सरसफाईका साथै अन्य स्वास्थ्यका मापदण्ड अपनाउँदा भाइरल ज्वरोको संक्रमण कम देखिएको थियो । तर, यस वर्ष स्वास्थ्यमा ध्यान नदिँदा र मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
केही दिनदेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित पेट दुःख्ने बिरामीको चाप बढेको छ ।
डडेल्धुरा अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकी बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १ सय बिरामीसम्म अस्पताल आउने गरेको डडेल्धुरा अस्पतालमा आजभोलि डेढ सयभन्दा बढी बिरामी आउन थालेको अस्पतालका निमित्त मेसु जगदिश चन्द्र बिष्टले बताए ।
‘गत वर्ष यो समयमा भाइरल ज्वरोका बिरामी शुन्य अवस्थामा रहेका थिए । यो वर्ष भने विगतका वर्ष जस्तै भाइरल ज्वरोका बिरामीको चाप बढेको छ’ उनले भने, ‘गत वर्ष कोरोना भाइरसको सन्त्रासका कारण मानिसहरुले सरसफाई र स्वास्थ्यमा ध्यान दिएको भएपनि यो वर्ष कोरोनाको त्रास कम भएसँगै मानिसले सरसफाई र स्वास्थ्यमा लापरबाही गर्दा भाइरल ज्वरोका विरामीको चाप बढेको छ ।’
उनले भाइरल ज्वरोको संक्रमण बढेकाले सरसफाईमा ध्यान दिनुका साथै अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।