बहराइनले नेपाल भित्र्याएको कोरोना विरुद्धको खोपको विषयमा विभागले थाल्यो छानबिन



Download our app to get more features

काठमाडौं, ४ चैत । औषधि व्यवस्था विभागले बहराइनबाट नेपाल भित्र्याएको कोरोना विरुद्धको खोपको विषयमा छानबिन सुरु गरेको छ ।

बहराइन सरकारले सोमवार २ हजार डोज कोरोना विरुद्धको खोप नेपाल ल्याएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस विषयमा छानबिन गर्नका लागि निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशन पछि विभागले छानबिन सुरु गरेको विभागका सूचना अधिकारी एवं प्रवक्ता सन्तोष केसीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले बहराइनबाट नेपाल भित्रिएको खोपको विषयमा हिजै सुनेपनि मन्त्रालयले मंगलबार मात्रै त्यस विषयमा छानबिन गर्नका लागि निर्देशन दिएपछि छानबिन सुरु गरिएको बताए ।

मन्त्रालयले विभागसँग छलफल गरिरहेको र बहराइनबाट नेपाल भित्रिएको खोपको विषय के हो ? खोप के गर्ने ? लगायतका विषयमा सम्बन्धीत निकायसँग छलफल भइरहेको पनि केसीले बताए ।

उनले भने, ‘अहिलेको विषम् परिस्थितिमा खोप जस्तो कुरालाई कसैले पनि वेवास्ता गर्नु हुँदैन । फेरि खोप लगायतका विषय औषधि व्यवस्था विभागसँग सरोकार राख्ने भएकाले  स्वीकृति बिना नेपाल भित्र्याउने र प्रयोग गर्न पाइँदैन । त्यसकारण यस विषयमा थप छानबिन र छलफल भइरहेको छ ।’

यस विषयमा छानबिनको क्रममा केही निस्कर्ष निस्केको खण्डमा हामी सूचना सार्वजनिक गर्ने केसीको भनाइ छ ।

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको  टोलीले सोमबार नेपाल आउँदा उक्त खोप ल्याएका थिए । 

Last modified on 2021-03-18 09:35:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts