कोरोना विरुद्धको खोप अभियान तत्कालका लागि स्थगित
काठमाडौं, ४ चैत्र । कोभिड १९ विरुद्धको खोप अभियान रोकिने भएको छ । आवश्यकता अनुसारको खोप उपलव्ध नभएपछि अभियान रोकिने भएको हो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ चैत देखि ६० बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने योजना बनाएको थियो । त्यसको केही दिनमै ५५ बर्ष माथिकालाई खोप शुरु गर्ने भनेको थियो । तर, खोप आउने ठेगान नभएपछि त्यो सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।
अग्रिम भुक्तानी गरी सम्झौँता गरेको खोप पनि ५० प्रतिशत मात्रै आएको र कोभ्याक्स सुविधा अन्तरगतको खोप पनि सोचे अनुरुप नआएकाले अभियान रोकिने भएको हो । यद्यपी अभियान स्थगित हुनेबारे मन्त्रालयले औपचारीक जानकारी भने दिएको छैन ।
सरकारले गत २३ फागुन देखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु गरेको थियो । यो अभियानमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप उपलव्ध गराईएको थियो । अभियानको हिजो अन्तिम दिनसम्म आईपुग्दा १६ लाख ४४ हजार ५५८ जनाले कोभिड – १९विरुद्धको खोपको पहिलो मात्रा लिएका छन् ।
१० लाख अनुदान, १० लाख खरीदको र ३ लाख ४८ हजार कोभ्याक्स सुविधा अन्तरगतको गरी कुल २३ लाख ४८ हजार खोप नेपालसंग थियो । १६ लाख ४४ हजार ५५८ जनाले खोप लगाईसकेको र केही खेरसमेत जाँने हुनाले अब बाँकी ७ लाख डोज मात्रै रहेको अनुमान मन्त्रालयको छ ।