स्वास्थ्य संस्थाको नियमन गर्ने छुट्टै निकाय बनाइँदै
काठमाडौं,३ चैत्र । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ ।
प्राधिकरण सम्बन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गठन प्रक्रियालाई तीव्रता दिएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य प्रत्यायण गठन गर्ने उल्लेख थियो ।
मन्त्रालयका कानून उपसचिव मानवहादुर बस्नेतका अनुसार अहिले विज्ञ टोलीले प्राधिकरण स्थापना तथा सञ्चालनका सम्वन्धी कार्यविधि तथा ऐनका लागि मस्यौदा तयार गर्ने कार्य गरिरहेको छ । अहिले ऐनको मस्यौदा बनाउने कार्यमा जुटिरहेको र १५ २० दिनमा यो काम सकिने उनले बताए ।
नीति तथा कार्यक्रममा आएपछि गत असारको अन्तिमतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाएको भन्दै अवधारणापत्र तयार गर्नका लागि भन्दै विज्ञहरुसंग सुझाव मागेको थियो ।
प्राधिकरणले स्वास्थ्य संस्थाको स्तरीकरण, स्वास्थ्य सेवाको बर्गीकरण, सोही अनुसार सेवाको सुनिश्चितता गर्ने र शुल्क निर्धारण गर्ने लगायतका कार्यहरुलाई व्यवस्थित ढंगले अघि बढाउने कार्य गर्ने बताइएको छ ।
अहिलेसम्म स्वास्थ्य संस्थाको स्तरीकरण, सेवाको बर्गिकरण गर्ने, सेवाको सुनिश्चितता गर्ने लगायतका कामहरु गर्ने छुट्टै कुनै निकाय छैन् । प्राधिकरण आईसकेपछि यी सबै कामहरु सहज ढंगले अघि बढने बताइएको छ ।