६५ वर्षभन्दा माथिकालाई खोप नलगाई फिर्ता गरिएकोमा मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं, ३ चैत । सरकारले दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथिका व्यक्तिलाई खोप नलगाइ फिर्ता गरिएकोमा ध्यानाकर्षण भएको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २३ बाट ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई खोप लगाउने गरी दोस्रो चरणको अभियान सुरु गरेको थियो । तर, केही खोप केन्द्रबाट ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप नलगाई फिर्ता पठाइएको गुनासो आएपछि मन्त्रालयको ध्यानाकर्षण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उमेर खुल्ने परिचयपत्र वा वडाको सिफारिसमा खोप लगाउन सकिने बताए ।
उनले कोरोनाविरुद्धको खोप लगाइसकेपछि खोप कार्ड यात्राको क्रममा काम लाग्ने भएका कारण सुरक्षित रुपमा राख्न पनि अनुरोध गरे ।
मन्त्रालयका अनुसार हालसम्म १५ लाख ५५ हजार ४ सय ४१ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।