राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना खोप
काठमाडौं, २ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्दको खोप लगाएकी छिन्। राष्ट्रपति भण्डारी सोमबार अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना विरुद्दको कोभिसिल्ड खोप लगाएकी हुन्।
खोप लगाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले खोप अभियानमा सबैलाई सहभागि हुन आग्रह समेत गरेकी छन्। नयाँ भएको हुनाले केही शङ्का हुनु स्वाभाविक भए पनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरेकीछन् । अग्रपङ्क्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुँदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि भण्डारीले बताइन ।
उनले भनिन, ‘म चाहिँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्ने नसकिने पर्यो । मैले खोप नलगाइकन जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले लगाएँ । म त त्यसै पनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने सम्भावना भएका सदस्यहरूले पनि खोप लगाउनुपर्यो ।'
फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो प्राथमिकतामा परेकाको खोप अभियान सुरु भएको थियो। यो अभियान अन्तरगत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइएको छ। नेपालमा हालसम्म १६ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन्।