सुदूरपश्चिममा दोस्रो चरणको अभियान अन्तर्गत १ लाख १५ हजारले लगाए खोप

धनगढी, २९ फागुन । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको क्रममा अहिलेसम्म १ लाख १५ हजार जनालाई खोप दिइसकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान फागुन २३ गतेबाट सुरु भएको हो । दोस्रो चरणको अभियान सुरु भएको ७ दिनमै १ लाख १४ हजार ६ सय ५६ जनालाई खोप लगाइएको समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।
दोस्रो चरणको खोप अभियानका लागि सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य मन्त्रालयबाट १ लाख २० हजार खोप मात्रै प्राप्त भएको हुँदा कैलाली बाहेकका जिल्लामा ६५ वर्षमाथिका नागरिकलाई मात्रै खोप दिइएको उनले जनाए ।
‘फागुन २३ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको खोप अभियानको समन्वय जिल्लास्थित स्वास्थ्य कार्यालयबाट भइरहेको छ,’ कार्कीले भने, ‘९ वटै जिल्लामा स्वास्थ्य जनशक्ति, खोप लगाउने जनसंख्या र खोपको भण्डारण र व्यवस्थापनको सहजताको आधारमा ७ सय ३५ खोप केन्द्र सञ्चालनमा ल्याइएका छौँ ।’
प्रदेशमा ३ लाख ६३ हजारलाई २० दिनको अवधिमा खोप लगाउने लक्ष्य भेटाउन प्राविधिक हिसाबले सजिलो भएपनि खोप प्राप्त नभएको अवस्थामा भने सो लक्ष्य भेटाउन नसकिने देखिएको छ ।
तर संघीय सरकारले खोपको व्यवस्थापन गरिरहेकोले प्रदेशका ५५ वर्षका सबै नागरिकलाई खोप लगाउन सम्भव भएको अधिकारीले दाबी गरेका छन् ।
दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिता रहेको अधिकारीहरुले बताएका छन् ।
पहिलो चरणमा भने सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती तथा बैंकका कर्मचारी र पत्रकार लगायत ३० हजारलाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।
कोभिशिल्ड खोप एक पटक लगाइसकेको केही समयपछि दोस्रो डोज लगाउनु पर्ने भनिएको छ ।
तर दोस्रो डोजका लागि आवश्यक खोपको प्रबन्ध अझै नभइसकेको पाइएको छ । तर सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीकाअनुसार कोभिशिल्डको दोस्रो डोज १२ हप्ताभित्र सबैलाई लगाइसक्ने गरि थप खोप मगाउँने काम भइरहेको छ ।
माघमा खोप लगाएकाहरुलाई आगामी जेठ महिनाभित्र र फागुनमा लगाउनेहरुलाई असारमा दोस्रो खोप लगाउने गरी तयारी भइरहेको छ ।
प्रदेशमा दोस्रो चरणमा ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप लगाउने योजना छ । खोप अभियान सन्तोषजनक भइरहेको बताइएको छ ।
कोभिशिल्ड खोप लगाइसकेका व्यक्तिहरूले दोस्रो डोज पनि लगाउनु पर्ने हुन्छ । कोभिशिल्डको दोस्रो डोज १२ हप्ताभित्र लगाइसक्ने गरी खोपको प्रबन्ध मिलाउँने काम भइरहेको प्रदेश सरकारले जनाएको छ ।