प्रधानमन्त्री र शिक्षामन्त्रीले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन चोर बाटो चाले : डा. केसी



Download our app to get more features

काठमाडौं, २७ फागुन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम आपत्तिजनक भएको आरोप लगाएका छन्।

चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध भएको उनको आरोप छ।
 ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ’, डाक्टर केसीले भनेका छन्।

मेडिकल शिक्षाजस्तो मानिसको जीवन–मरणसँग जोडिएको विषयमा भइरहेको अनियमितता निन्दीय भएको डा. केसीले बताएका छन्।

पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस गर्नु कानुन बिपरित भएको उनले बताएका छन्। ‘जबकि कानुनमा कतै त्यस्तो प्रावधान छैन। कुनै संस्थाका भ्रष्ट पदाधिकारीहरूको गठजोड र सत्तामा हुनेहरूको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन सक्दैन। त्यसैले अवैध रुपमा चोर बाटोबाट सम्बन्धन दिलाउने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनको भनाई छ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts