मिर्गौला प्रत्यारोपीबीच खेलकुद प्रतियोगिता

काठमाडौं, २७ फागुन । मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले आज मिर्गौला प्रत्यारोपीबीच खेलकुद प्रतियोगिता, अन्तर्क्रिया र निशुल्क मिर्गौला परीक्षण तथा अंगदान शिविर सञ्चालन गरेको छ।
मिर्गौला प्रत्यारोपित, अंगदाता, चिकित्सक, नर्स, पत्रकार, कलाकार, समाजसेवीबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरिएको हो। जसमा मिर्गौला प्रत्यारोपीको टोली बिजयी भएको छ।
विजयी टोलीलाई ट्रफी तथा उत्कृष्ट फुटबलरलाई नगद पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा नेपालमा पहिलो पटक दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने, कलेजो प्रत्यारोपण गर्ने, दुई परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गर्ने, मस्तिष्क मृत्युबाट प्राप्त अंगदानबाट प्रत्यारोण गर्ने र अंगदाता तथा तिनका परिवारलाई विशेष सम्मान गरिएको थियो।
मिर्गौला शल्य चिकित्सक डाक्टर पुकार चन्द्र श्रेष्टले अंग प्रत्यारोपीतहरू पनि अरु व्यक्ति सरह स्वास्थ्य र सक्षम छन् र सबैले अंगदान गर्न सके अंग फेल भएकाहरूले अगालमा ज्यान गुमाउनु पर्दैन भन्ने सन्देश दिन प्रितियोगिताको आयोजना गरिएको बताए।
उनले मिर्गौला फेल हुनबाट जोगिन तौल नियन्त्रण गर्नुपर्ने, नियमित व्यायाम, चिल्लो, पिरो तथा बढी मसलेदार खाना कम खाने, प्रशस्त मात्रामा पानी पिउने, मध्यपान र धुमपान नगर्ने, चिकित्सकको सल्लाहविना कुनै पनि औषधी सेवन नगर्ने र कम्तीमा वर्षमा एकपटक मिर्गौला जाँच गराउनु पर्ने बताए।