मंगलबार २ लाखभन्दा बढीले लगाए कोरोना खोप,ज्येष्ठ नागरिकमा खोपको गम्भीर असर देखिएन

काठमाडौं, २६ फागुन । मंगलबार एकै दिन २ लाख ९ हजार जनाभन्दा बढी ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।
मंगलबार एकै दिन २ लाख ९ हजार १२७ जनाले कोरोना विरुद्धको खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले बताए ।
देशभर रहेका ३ हजार ३३२ वटा खोप केन्द्रमध्ये कतिपय खोप केन्द्रबाट भने मंगलबारको खोप लगाउनेको तथ्यांक आउने क्रम जारी रहेको उनले जानकारी दिए।
डा. गौतमले पहिलो दिन आइतबार २ लाख १८ हजार ९ सय ६२ जना र दोस्रो दिन सोमबार २ लाख ४१ हजार ५१० जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको बताए ।
बाल स्वास्थ्य तथा खोप शाखाको यो तथ्यांकलाई हेर्दा ६ लाख ६९ हजार ५९९ जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप लगाइसकेका छन्। डा. गौतमका अनुसार दोस्रो प्रथामिकतामा परेका ५५ वर्ष माथिका १७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ। सोही लक्ष्यका साथ आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो।
यस्तै, चैत ४ गतेदेखि ५५ वर्ष माथिकलाई खोप दिने जनाइएको छ। डा. गौतमका अनुसार खोप अभियानमा ज्येष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको छ।
हालसम्म खोप लगाएका ६ लाख भन्दा बढी ज्येष्ठनागरिकहरुमा केहीमा खोपको सामान्य लक्षण देखिएपनि गम्भीर असर नदेखिएको पनि डा. गौतमले बताए।