कोभिसिल्ड भ्याक्सिन लगाएपछि हुनसक्ने समस्या र लक्षण
काठमाडौं, २४ फागुन । सरकारले हिजो देखि दोस्रो प्राथमिकतामा परेकाहरुको पहिलो चरणको खोप कार्यक्रम शुरु गरेको छ । यस अन्तरगर्त अहिले ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिन शुरु गरिएको छ । हिजो पहिलो दिन नै १ लाख ६५ हजार बढीले कोभिसिल्ड लगाएका छन् ।
कोभिसिल्ड भ्याक्सिनको प्रयोग
- यो खोप भण्डारण गर्दा कोल्डचेन प्वाइन्टमा आइएलआर भ्याक्सिन राख्ने आइस लाइन रेफ्रिजरेटरमा २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ।
- ढुवानी तथा खोप सेसन सञ्चालन गर्दा कन्डिसन गरेको आइस प्याक सहितको कोल्ड बक्स र भ्याक्सिन क्यारियर प्रयोग गर्ने।
- खोलिसकेको भायल ६ घण्टापछि वा सेसनको अन्त्यपछि प्रयोग गर्नु हुँदैन।
- भायल खोलेको समय र मिति भायलमा लेख्नुपर्छ।
- खोलिएको भ्याक्सिन भायल एक सेसनबाट अर्को सेसनमा प्रयोग नगर्ने।
- यो खोप बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा मासुभित्र दिइन्छ।
- यो खोप एक पटकमा शून्य दशमलव ५ मिलि दिइन्छ।
- यो खोप २ पटक ४ हप्ताको फरकमा लगाउनुपर्छ।
- यो खोप १८ वर्ष उमेर माथिका लागि मात्र स्वीकृत भएको छ।
- १८ वर्ष मुनिका बालबालिकामा यस भ्याक्सिनको सुरक्षा र प्रभावकारिता स्थापित भएको छैन।
- कोभिड–१९ भ्याक्सिनसँगै अन्य भ्याक्सिन दिनु परेमा १४ दिनको अन्तरमा मात्र दिनुपर्छ।
- पहिलो मात्रा कोभिसिल्ड भ्यासिन लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड भ्याक्सिन नै लगाउनुपर्छ।
कोभिसिल्ड भ्याक्सिन दिनै नहुने अवस्था
- यस खोपको पहिलो डोजपछि गम्भीर एलर्जी एनाफाइलेक्सिस भएमा,
- यस खोपको कुनै पनि तत्वको गम्भीर एलर्जी (एनाफाइलेक्सिस०)भएमा,
- यसभन्दा अघि अरु कुनै कारणले अर्थात् भ्याक्सिन, इन्जेक्सन थेरापी, फुड आइटम वा औषधिको प्रयोगले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस भएमा।
- गर्भवती तथा स्तनपान गराउने आमा र गर्भावस्थाको लागि योजना बनाइराखेका महिलालाई पनि यो भ्याक्सिन लगाउनु हुँदैन।
- कोभिड–१९ को सक्रिय संक्रमण भएको ४ देखि ८ हप्तासम्म खोप लगाउनु हुँदैन।
- प्लाज्मा थेरापी दिइएका कोभिड–१९ का बिरामीले ४ देखि ८ हप्तासम्म यो खोप लगाउनु हुँदैन।
- कुनै पनि कारणले गम्भीर बिरामी भएमा यो खोप लगाउनु हुँदैन। यस्ता व्यक्तिलाई दिन मिल्छ भ्याक्सिन
- पहिला कोभिड–१९ संक्रमण भएका व्यक्ति,
- दीर्घरोग जस्तैः मुटु, मस्तिस्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर रोग भएका व्यक्ति,
- रोग प्रतिरक्षाकर्मी वा एचआइभी भएका व्यक्ति, रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीलाई पनि यो खोप दिन मिल्छ।
- तर यस्ता बिरामीमा तुलनात्मक रुपमा कम इम्युनिटी अर्थात् प्रतिरक्षा शक्ति प्रदान गर्नसक्छ।
खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण
- सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने,
- थकाइ र आलस्य महसुस हुने,
- ज्वरो आउन सक्ने,
- टाउको दुख्ने, वाकवाकी हुने,
- मांसपेसी वा जोर्नीको दुखाइ हुने,
- बान्ता आउने ,
- फ्लुको जस्तै लक्षण देखिनु जस्तैः ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने आदि लक्षण खोप लगाएपछि देखिन सक्छ। यो समान्य लक्षण हो। यस्ता लक्षण देखिँदा आत्तिनु भने पर्दैन।