आइतबार एकै दिन एक लाख ४३ हजारले लगाए कोरोना खोप



Download our app to get more features

काठमाडों, २४ फागुन । सरकारले आइतबारदेखि ६५ वर्षमाथिका नागरिकका लागि कोभिड १९ विरुद्दको खोप अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पहिलो दिन देशभरका १ लाख ४३ हजार १४२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन्।

आइतबार बिहान साढे १० बजे त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएसँगै ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमका अनुसार दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरिएको खोप अभियानको पहिलो दिन साँझ ६ बजेसम्म २ हजार ९३ वटा खोप केन्द्रबाट १ लाख ४३ हजार १४२ जनाले खोप लगाएका हुन्। 

सरकारले प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाउने लक्ष्य लिएको छ। खोपको उपलब्धता र जोखिमको आधारमा आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइन थालिएको हो ।

आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइसकेपछि ११ औं दिनदेखि ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिइने सरकारको तयारी छ ।

तर हिमाली जिल्ला तथा उच्च पहाडी भेगको हकमा खोपको उपलब्धताको आधारमा ५५ वर्ष माथिका सबैलाई खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मीलाई खटाइएको छ। 

Last modified on 2021-03-09 07:38:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts