कोरोना विरुद्धको खोप अभियानः आज मन्त्री र सांसदहरुलाई खोप लगाइँदै
काठमाडौं, १९ फागुन । सरकारले सञ्चालन गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आज मन्त्री तथा सांसदहरुले खोप लगाउँदैछन् ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालय तथा राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आज माननीय मन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।
आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।
संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई भोलि खोप लगाउने तय भएको छ ।
यस्तै, पर्सी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारीलाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।