महिनावारीको पीडालाई बुझ्न सक्ने समाज कहिले बन्ला ?



Download our app to get more features

बाटोमा हिँड्दै थिएँ । रुन्चे स्वरमा दिदी भनेर कसैले बोलायो । दायाँबायाँ हेरे अरु कोही देखिन । नचिनेको स्वर, ठाउँ पनि नयाँ थियो मेरो लागि । दुईहप्ता अगाडि काम विशेषले लमजुङ पुगेको थिएँ । अस्पतालमा जानुपर्ने भयो । डाक्टरको प्रतिक्षामा थिए । नयाँ ठाउँ, बाहिर निस्केर घुम्नपर्याे भनेर १० मिनेट अगाडि बढेको मात्रै थिएँ, पाईला अगाडि बढेनन् । कसैले मलाई नै खाजेको अनुभव भयो । पछाडी फर्केर हेरे । 

अन्दाजी चौध, पन्ध्र वर्षीया किशोरी, एउटा हात पेटमा अर्काे हात टाउकोमा थियो । मैले सजिलै अनुमान गरे । महिनावारीको पीडा होला भनेर । नजिकै गएर सोधेँ । मलाई बोलाएको हो ? ती बहिनीको उत्तर आयो, हो । दिदी, घरमा कोही हुनुहुन्छ, हजुरलाई नचिनेपनि मेरो दिदी जस्तै लागेर बोलाएकी । मेरो दिदी पनि काठमाडांैमा बस्नुहुन्छ । देख्दा हजुर जस्तै लागेर बोलाएको । मलाई गाह्रो भयो दिदी, के गर्ने होला ? उनको प्रश्न झर्न नपाउँदै मैले उत्तर फर्काएँँ किचन कता छ ? 

उनले हताको ईसराले देखाई, नचिनेकै भएपनि गएर पानी तताएर ल्याए । धन्न ग्याँस रैछ र सजिलै पानी तताउन सकेँ नभए मलाई पनि गाह्रै हुन्थ्यो होला । पानी सेलाएर खान दिएँ । अनि बाँकी रहेको पानी ठुलो ग्लासमा राखेर उनको पेट सेकिदिए । 

केही समयमा नै ती बहिनीको मुहारमा उज्यालो छायो । थोरै भएपनि खुसी लाग्यो । उनले प्रश्न गर्न थालिन्, दिदी हजुरलाई कसरी थाहा भयो ? मैले भने, मलाई पनि यो समस्याले धेरै सताउँछ नानु, तिमीभन्दा सानै उमेरबाट आफैले भोगेपछि जानेको हो । उत्तर दिन नपाउँदै फेरी प्रश्न आयो, यो समस्या त मेरो आमालाई पनि छ, तर उहाँले मलाई कहिल्यै यस्तो गर्नुभएन, अनि, हजुरलाई कसरी थाहा भयो ? मेरो स्वास्थ्य क्षेत्रसँगको लगाव अल्लि धेरै नै छ नानु, डाक्टरको संगत अनि भोगाईले आफुलाई पर्ने समस्याको समाधान गर्नसक्ने भएको छु । 

उनले दुखेसो सुनाउँदै गइन्ः महिनावारीको समयमा धेरै पीडा हुन्छ । पेट साह्रै दुख्छ । मलाइ महिनावारीको  समयमा आरामको आवश्यक्ता निकै पर्छ । म पीडा लुकाएर कुनै काम गर्न सक्दिन, त्यसैले मेरो महिनवारीको पीडा आमालाइ सुनाएको छु । बिडम्बना आमाले मेरो त्यो पीडा कहिले बुझिदिनु हुँदैन । मैले बुझाउन नसकेको हुँ या त उहाँले नै नबुझ्नुभएको हो । 

मेरो आगाडी नानुको यो कुराले आँखा रसायो । उनले फेरी आमालाई भनिन, घरको कामको चापले प?डा बुझेर पनि नबुझ्नु भाको हो । खै ? तर  मेरो पेट दुखेकै हो, साँच्चिकै आमा मैले ठगेको होइन  । आमा हजुरले मेरो पीडा किन बुझ्नुहुन्न ? उनको यो प्रश्न साँच्चै मार्मिक थियो । हरेक किशोरीको पीडा उनले बोलिराखेकी थिइन् सायद ।

आफुले जानको जवाफ उसलाई दिँदै थिएँ, बहिनीको आमा पनि आइपुग्नु भयो । 

नयाँ मान्छे तर आफ्नै नानी जस्तो लाग्यो, भनेर कुराको सुरुवात गर्नुभयो । मलाई पनि बोल्न थालेपछि समय गएको पत्तै नहुने । आखिर बोल्ने पेशामा आबद्ध भएर पनि होला । आधीघण्टाको बसाईपछि अस्पतालबाट फोन आयो । नानु अनि उनकी आमालाई आफुले जानेको सबै कुरा बताएँ ।  

शहरमा नै भएर पनि महिनावारिको बारेमा खुलेर कुरा नगर्ने हामी अनि परिवर्तन गर्न नसकेको हाम्रो सोचले अझै पनि धेरै पछाडी छौं जस्तो लाग्यो । आज पनि नेपालका धेरै ठाउँमा महिनावारीको पीडा बुझ्ने अनि सहज व्यवहार गर्ने कमै भेटिन्छन् । यो मामिलामा म निकै भाग्यमानी रहिछु भन्ने लाग्यो । 

मैले पनि यो दुखाईको पीडा सानै उमेरबाट भोग्दै आएको हो । तर मेरो ममीले कहिल्यै नराम्रो भन्नु भएन । म रोएपछि उल्टै सँगै बसेर रोएको याद आयो । कतिबेला आँखामा आश्ुा भरिएर बाहिर निस्कियो पत्तै भएन् । 

आफुलाई सम्हाल्दै, ती आमालाई सम्झाएर फर्किएँ । बाटोमा धेरैखालका प्रश्नले घेरिरह्यो । आफुले भोगेको पीडा आफ्नै सन्तानलाई किन दिन्छौं हामी ? नबुझेर या बुझाउन नसकेर ? शहरी क्षेत्रमा त यस्तो छ भने ग्रामिण क्षेत्रमा झन अबस्था कस्तो होला ? स्कुल, कलेज पढ्दै गरेका किशोरीहरुको अबस्था कस्तो होला ? उनीहरुलाई आफ्नो समस्या समाधान गर्नसक्ने कसरी बनाउन सकिएला ? अनि नेपालमा म जस्तै महिनावारीको पीडाले काम गर्न नसक्नेको लागी पेनलिभ भनेर कहिलेदेखि पाउने होला ? महिनावारीलाई विषय बनाएर गरिने छुवाछुत कहिले अन्त्य होला ? यस्ता धेरै प्रश्नले घेरिएको हुन्छ हरेक महिला तर उत्तर भेटाउन सकेको छैन । 

अहिलेको अबस्थामा मैले देखेको कुरा, महिनावारी हुँदा किन तल्लो पेट दुख्छ ? यसलाई कसरी कम गर्न सकिन्छ ? महिनावारीमा तल्लो पेट दुख्न कम गर्ने औषधि के हो ? भविष्यमा प्रजननसँग यसको के सम्बन्ध हुन्छ ? भनेर विद्यालय तहको शिक्षामा नै समावेश गराउन अत्यावश्यक छ । जसले गर्दा आफ्नो समस्याको बारेमा किशोरीहरुले खुलेर कुरा गर्न सकुन् । अनि, आफ्नो समस्या आफैले समाधान गर्ने आँट गरुन् । 

यसैपनि किशोरी अवस्थामा हुने मानसिक तनाव, चिन्ता एवं पीडा खप्न सक्ने क्षमतामा कमी हुन्छ । मैले डाक्टरसँगको कुराकानी अनि अध्ययनबाट थाहा पाए अनुसार,  पाठेघरको मुख साँघुरिने, जन्मजातरूपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्यधिक मात्रामा भ्यासोप्रेसिन (पाठेघर खुम्च्याउने रासायनिक तत्व) तथा प्रोस्टाग्लान्डिन (पाठेघरको मध्यम तहमा रक्तसञ्चार घटाउने रासायनिक तत्वको उत्पादनले गर्दा महिनावारीको बेला पीडा हुन्छ । यस्ता खाले पीडा डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित हुन्छ ।

महिनावारी शुरु हुनु केहीघण्टा अगाडिदेखि सानो पेट दुख्ने काम शुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्नसक्छ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने पनि हुन्छ । तर पेट वा जननेन्द्रियको आन्तरिक जाँच वा भिडियो एक्सरेमा त्यस्तो कुनै खराबी भने भेटिँदैन । यो म आफैले भोगेको कुरा हो ।  

यो पीडालाई कम गर्न तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा सिसाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । 

मनतातो पानीमा एकछिन हातखुट्टा डुबाएर बस्दा पनि आराम मिल्छ । 

अदुवा–पानी तताएर पिउँदा पनि आराम मिल्छ ।

सात, आठ ओटा मुलाको दाना चपाएर मन्तातो पानी खादा धेरै हद सम्मको पीडा कम हुन्छ । 

आफ्नो दैनिक क्रियाकलाप जारी राख्नाले एवं व्यायाम र घुमफिर गर्नाले ध्यान अन्यत्र मोडिने हुँदा फाइदै पुग्छ । 

यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

धेरै गाह्रो भयो भने डाक्टरले दिने औषधि भनेको मेफेनेमिक एसिड, ब्रोफेन, नेप्रोक्सिन, मेफ्टाल लगायत औषधिहरू हुन् । यो औषधि महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सुझाब दिन्छन तर यसको नियमित प्रयोगले भविष्यमा पर्ने असरको बारेमा पनि सचेत हुनपर्छ । यस्ता औषधिको नियमित प्रयोगले पछि पाठेघरमा असर गर्ने तथा बाँझोपन निम्त्याउने विभिन्न अध्ययनले देखाएको छ । 

त्यसैले समस्या समाधान गर्ने बाहनामा थप ठुलो समस्या नल्याउँ । महिनावारीको बारेमा राम्रोसँग बुझाउन नसक्दा अझै पनि विकराल समस्यासँग धेरै किशोरीले जुध्नुपरेको छ । त्यसैले थप जोखिम नआओस् भन्नका लागि स्कुल तहमा नै पाठ्यक्रममा समावेस गर्न ढिला भैसकेको छ । सम्बन्धीत निकायको ध्यान चाँडै जाओस् ।  

Last modified on 2021-03-04 07:37:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts