क्यान्सरको आशंकामा उपचारका लागि भारत गएका पूर्व प्रधानमन्त्री भट्टराई आज काठमाडौं फर्किदै
काठमाडौं, १८ फागुन । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्य उपचार गराएर आज नेपाल फर्कदैछन् ।
पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई आज काठमाडौं फर्कन लागेका हुन् ।
उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज नेपाल वायु सेवा निगमको जहाजमार्फत उनी नेपाल फर्किनेछन् ।
पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गराइरहेका थिए । तर यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै त्यसको उपचार हाल यहाँ सम्भव नदेखिएकाले नयाँदिल्ली जान सल्लाह दिएका थिए ।
त्यसपछि डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए । त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेका हुन् ।
तर ट्युमरको अपरेसन भने दुई–तीन महिनाभित्रै गराउन सल्लाह दिइएको प्रेस सल्लाहकार पाण्डेले जानकारी दिएका छन् ।