स्वास्थ्यकर्मीलाई दुर्गममा पठाउनु चुनौती पूर्ण विषयः मन्त्री बराल

रुपन्देही, १८ फागुन । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीलाई पठाउनु चुनौती पूर्ण विषय रहेको बताएका छन् ।
निक साइमन्स इन्स्टिच्युटको समन्वयमा रामपुर अस्पतालमा सुरु भएको अप्रेशन सेवाको शुभारम्भ गर्दै मन्त्री बरालले मन्त्रालयबाट डाक्टरहरु पठाए पनि बिचबाटै बाट फर्किने गरेको बताए ।
दुर्गममा सरुवा भएमा बिच बाटै हराउने गरेको यथार्थ बताउँदै बरालले भने ‘मेरो काम मन्त्रालयमा एक लेभलको काम डाक्टरहरुलाई काउन्सलिङ गर्ने, डाक्टर काठमाडौंबाट आउँछ, डाक्टर आउनु भन्दा अगाडी १० जनाको फोन त आईसकेको हुन्छ । अनि राख्ने काउन्सिलिङ गर्ने हो ।’
उनले यी कारणहरुले दुर्गममा स्वास्थ्यकर्मी पठाउन चुनौति भए पनि मन्त्रालयले प्रयास गरिरहेको बताए । दुर्गम ठाउँमा स्वास्थ्य नपु¥याईकन समाजवाद नआउने बताउदै भने ‘कांग्रेसले पनि समाजवाद भनेको छ कम्युनिष्टले पनि समाजवाद भनेको छ । ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा प्राप्त नगरी कनै समाजवाद कसरी आउँछ ?’
उनले निजी क्षेत्रसँग समन्वय गरेर स्वास्थ्य सेवालाई सहज बनाउनका लागि प्रयास गरिरहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद युवराज खनालले रामपुर अस्पतालमा अप्रेसन सहितको सेवा सुचारु हुनु खुशीको कुरा रहेको बताउँदै यसले गण्डकी बेशीका जनतालाई थप राहत प्रदान गर्ने बताए ।
अस्पतालमा समग्री उपलब्ध गराउन, जनशक्ति थप गर्न पहल गरिरहेको बताउदै रामपुरमा दक्ष जनशक्तिलाई आकर्षित गर्न किन सकिएन भन्ने विषयमा सोच्ने समय आएको बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सेवा शुभारम्भ भए पनि नियमित सञ्चालनमा चुनौति रहेको भन्दै यसमा सरोकारवालाहरुले सोच्ने समय आएको बताए ।
उनले ब्लड बैंक स्थापनामा पहल गर्नु पर्ने बताउँदै अस्पतालको विकासको लागि नगरले आफ्नो क्षमता अनुसार पहल गर्ने प्रतिवद्धता जनाए ।
रामपुर अस्पताल व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष फणेश्वर गौतमले कागजमा उल्लेख भएका विषयलाई व्यवहारमा लागु गर्नु आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीले अस्पतालको लागि आवश्यक सामाग्री उपलब्ध गराउँदै आएको बताउँदै चिकित्सकहरुको आत्मबल वृद्धिमा ध्यान दिन स्थानियलाई अनुरोध गरे ।
निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डाक्टर अनिल बहादुर श्रेष्ठले अस्पतालको विकासको लागि बिरामीहरुलाई विश्वास दिलाउनु पर्ने बताए । उनले सबैको लगाबले मात्र अस्पताल अघि बढ्ने बताए ।
निक साइमन्स इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम निर्देशक डाक्टर काशिम शाहले इन्स्टिच्युटले गर्दै आएका कामको बारेमा जानकारी दिदै लुम्बिनी प्रदेशका १७ वटा अस्पतालमा अप्रेसन सेवा रहेकोमा आज बाट १८ वटामा विस्तार रहेको बताए ।
उनले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसारको तालिम समेत प्रदान गर्दै आएको बताए ।
रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पतालले प्रदान गर्ने सेवा र वर्तमान अवस्थाको बारेमा जानकारी दिदै अप्रेसन सेवा सुरु भएसँगै अप्रेसन सहितको सुत्केरी सेवा, एपेन्डिक्स, हाईड्रोशिल र हर्नियाँको अप्रेशन गरिने बताए ।
रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पताल प्रशासन सहायक हिरा वि.क.ले गरे ।