प्युठान अस्पतालमा एक सुत्केरीको मृत्यु, अस्पतालको लापरबाही भएको आफन्तको आरोप
प्यूठान, १६ फागुन । प्युठान अस्पतालमा एक जना सुत्केरीको मृत्यु भएको छ ।
शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषाराकी २४ वर्षीया अनिसा एमसीथापाको शनिबार राति मृत्यु भएको हो । थापाको मृत्यु अस्पतालको लापरबाहीले भएको परिवारले आरोप लगाएको छ । शिशुको अवस्था भने सामान्य रहेको छ ।
मृतकका श्रीमान सुदन थापाले अनिसाको बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माइएको र शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको बताए ।
उनले अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रेफर गरेको तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको बताए ।
उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा बिरामीलाई रेफर गर्नु अस्पतालको लापरबाही भएको थापाको भनाइ छ ।
अनिसाको शवलाई प्यूठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन समेत गरिएको छ ।