डडेल्धुरा अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया
डडेल्धुरा, १३ फागुन । डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा. तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पत्थरीको अप्रेसन गरेको हो ।
५४ वर्षीय पुरुषको दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिए ।
‘ती पुरुषको पित्तथैलीमा रहेको पत्थरी एउटा ठोस पदार्थ ढुंगाजस्तो थियो । त्यसलाई हामीले दूरबिनबाट निकालेका हौँ’ डा. श्रेष्ठले भने, ‘पित्तथैलीको पत्थरीले पछि गएर क्यान्सर समेत हुन सक्छ । त्यसैले यसको समयमै उपचार गरिहाल्नुपर्छ ।’
अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो । त्यसपछि पुसमा एपेन्डिसाइटिसको पनि दूरबिनबाट शल्यक्रिया गरिएको थियो ।