नेपालमा गत २४ घन्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर स्थिर
काठमाडौं, १२ फागुन । नेपालमा गत २४ घन्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा ३ हजार ६ सय ९२ पिसिआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वरव गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको बताए ।
यस्तै गत २४ घन्टामा थप ७१ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण भएकामध्ये निको हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । जसमा १ हजार १० जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ५ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।