कोरोनाका बिरामीमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको संयुक्त प्रयोग सुरक्षित : अध्ययन
काठमाडौं, ११ फागुन । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेकामा रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापीको संयुक्त प्रयोग नेपालमा सुरक्षित र प्रभावकारी देखिएको छ ।
मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै दुबै किसिमको प्रयोग प्रभावकारी भएको बताएको हो ।
गम्भीर लक्षण देखिएको कोरोना संक्रमितमा संयुक्त उपचार पद्धति प्रयोग विशेष प्रभावकारी भएको परिषद्ले बताएको छ । रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापी प्रभावकारी अध्ययन गर्नको लागि ३० अस्पतालबाट १ हजार ३ सय १५ कोरोना संक्रमित लिइएको परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले बताए। सो अध्ययनमा रेम्डेसिभिर प्रयोगले मध्यम संक्रमण भएका बिरामीहरूको निको हुने दर ९८.४ प्रतिशत पाइएको देखाएको छ।
‘कन्भालेसेन्ट प्लाज्मा पाएका अधिकांश बिरामीमा बढी गम्भीर र खतरापूर्ण संक्रमण भएको पाइएको थियो,’ ज्ञवालीले भने, ‘यी बिरामीमध्ये कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीको निको हुने दर ३९ प्रतिशत थियो। रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गरिन निको हुने बिरामीको दर ५४ प्रतिशत थियो।’
‘दुबै उपचार विधिहरू अस्पताल भर्ना भएका कोभिड–१९ का बिरामीहरूमा सुरक्षित रहेको पाइयो’, परिषद्ले प्रेस विज्ञप्तिमा भनेको छ, ‘मध्यमदेखि अलि कडा लक्षण देखिएका बिरामीहरूमा रेम्डेसिभिर मात्रको प्रयोगले सन्तोषजनक नतिजा र धेरै कडा लक्षण देखिएका बिरामीहरूमा रेम्डेसिभिर र कन्भलेसेन्ट प्लाज्माको प्रयोगले राम्रो नतिजा आएको पाइयो ।’
उपचार सफल नभएका अर्थात् निको नभएका बिरामीमा अस्पताल भर्ना हुनु पहिले नै अन्य कुनै न कुनै रोगबाट गम्भीर र खतरापूर्ण भएको विज्ञप्तिमा भनिएको छ ।
सो अध्ययन जुलाई २०२० देखि अक्टोबरसम्म गरिएको थियो ।