डा. भट्टराई यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भए
काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् ।
डा. भट्टराईलाई मंगलबार बिहान ९ बजेदेखी अस्पताल भर्ना गरिएको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।मंगबार दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै स्वास्थ्य परीक्षण गरिने पाण्डेले बताए । सोमबार भट्टराईले आफ्नो स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका थिए ।
उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनी अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंकामा सल्लाह र सिफारिश गरेपछि दिल्ली गएका थिए ।