कोरोना खोपको दोस्रो डोज ८ हप्तामा दिइने



Download our app to get more features

काठमाडौं, ११ फागुन ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ ।

कोभिड १९ खोप प्राविधिक सल्लाहकार समितिले  पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो । यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि  दोस्रो मात्रा दिने बताएको थियो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल कल्याण तथा खोप महाशाखा प्रमुख डा.झलक गौतमका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा यस्तो प्रस्ताव गरिएको  थियो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।

खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने कोभिड१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।  

खोप विज्ञसमेत रहेका डा. उप्रेतीका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरी कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउनेसमेत उनले बताए । 

Last modified on 2021-02-23 10:41:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts