सात दिनभित्र कोरोना बीमितको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी प्रमाणीकरणका लागि बीमितको विवरण सात दिनभित्र पठाउन प्रयोगशालालाई निर्देशन दिएको छ ।
सोमबार मन्त्रालयले सूचना जारी गर्दै कोरोना बीमा दाबी प्रमाणीकरण क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएकाले सात दिनभित्र सही विवरण पठाउन मन्त्रालयले प्रयोगशालालाई निर्देशन दिएको हो ।
सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिएअनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रूपमा पठाउन निर्देशन दिएको छ ।
विवरण प्रमाणीकरण गर्ने सन्दर्भमा कोभिड परीक्षण गरिएभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालारइडिसिडीमा रिपोर्टिङ गरिएको पाइएको भन्दै ती विवरण कोरोना बिमा दावी भुक्तानीका लागि अयोग्य भएको समेत मन्त्रालयले जनाएको छ।
तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बीमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिने मन्त्रालयले जनाएको छ ।
नियमित रूपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही गरिनेसमेत मन्त्रालयले चेतावानी दिएको छ ।
कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित समिति र स्वास्थ्य मन्त्रालयले १८ हजार विवरण प्राप्त भएको र १५ हजार भन्दा बढी विवरण प्रमाणीकरण भएको जनाएको छ ।