नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि जारी
काठमाडौं, ९ फागुन । सरकारले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ ।
कार्यविधिमा चिकित्सकको परामर्श शुल्क मन्त्रालयले तोकेअनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख छ । यो शुल्क विस्तारित सेवामा मात्रै हुने पनि उल्लेख गरिएको छ ।
कार्यविधिअनुसार विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई सय प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको अतिरिक्त आम्दानी मानिने उल्लेख छ । बाँकी १० प्रतिशत भने प्रशासनतर्फका कर्मचारीको अतिरिक्त आम्दानी स्वरुप बाँडिने उल्लेख छ ।
विस्तारित कार्यक्रम संचालन गर्न अस्पताल प्रमुखको अध्यक्षतामा पाँच सदस्सीय समिति हुने उल्लेख छ । जसको सदस्यमा अस्पताल प्रशासन प्रमुख, लेखा प्रमुख, नर्सिङ प्रमुख र अस्पताल प्रमुखको सिफारिसमा एक जना स्वास्थ्यकर्मी सदस्य सचिव रहने उल्लेख छ ।
यसअघि वि.सं. २०७१ सालमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले विस्तारित स्वास्थ्य सेवा कार्यविधि बनाएर लागु गरेका थिए । सो कार्यविधि आएसँगै देशका धेरै केन्द्रीय अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भइसकेको छ ।