पेटमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री डा. भट्टराई थप उपचारका लागि दिल्ली जाँदै

काठमाडौं, ९ फागुन । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदैछन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराईको पेटमा समस्या देखिएपछि स्वास्थ्य उपचारका लागि उनी आज भारत जान लागेका हुन् ।
नेपाल वायुसेवा निगमको जहाजबाट उनी भारतको राजधानी नयाँ दिल्ली जाने बताइएको छ ।
उनको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका डा. भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले त्यसको उपचारका लागि रेफर गरेपछि उनी दिल्ली जान लागेका हुन् ।
दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा हुनेछ ।