कोरोना विरुद्धको खोप अभियानमा अबको प्राथमिकतामा औषधि पसलमा कार्यरत व्यक्तिहरु

काठमाडौं, ९ फागुन । नेपालमा जारी कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अबको प्राथमिकतामा औषधि पसलमा कार्यरतहरुलाई खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शाखा महाशाखाहरुमा कार्यरत प्रमुखहरुको उपस्थितिमा शनिवार बसेको बैठकले औषधि पसलमा कार्यरतहरुलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको हो ।
मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ, मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका प्रमुख, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, प्रदेशमा खटिएका संयोजक, सामाजिक विकास मन्त्रालयका महाशाखाका प्रमुखहरु, निर्देशकहरु, स्वास्थ्य कार्यालय प्रमुखहरु लगायतका विज्ञहरुको सहभागितमा बैठक बसेको थियो ।
बैठकले कोभिड १९ खोप कार्यान्वयनको प्रगति पुनरावलोकन र समिक्षा गरी अबको प्राथमिकतामा जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीलाई खोप लगाउने निर्णय गरेको हो ।
यस्तै मशाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई दोस्रो प्राथमिकताको (५५ वर्षमाथि उमेर समूहलाई लगाइने खोप चरणमा) खोप लगाउनका लागि आवश्यक तयारी व्यवस्थापन गर्ने पनि निर्णय गरिएको छ ।
यस्तै बैठकले खोप खरिदका लागि तालिका तथा खोप अभियान सञ्चालनको तालिकाको समाञ्जस्यता मिलाउने व्यवस्था गर्ने पनि निर्णय गरेको हो ।
सरकारले फागुन २ गतेदेखि सुरु गरेको पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान शनिवार सकिएको छ ।