सरकारले गरेको सम्झौता अनुसार आज भारतबाट थप १० लाख खोपको डोज नेपाल आउँदै
काठमाडौं, ९ फागुन । भारतबाट आज थप १० लाख डोज कोरोना विरुद्धको खोप नेपाल आउँदैछ ।
नेपाल सरकारले भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोपको २० लाख डोज खरिदका लागि गरेको सम्झौता अनुसार थप १० लाख खोपको डोज नेपाल आउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले फागुन ५ गते सरकारले भारतको सिरम इन्स्टिच्यूटसँग २० लाख खोपको डोज खरिद गर्ने गरेको सम्झौता अनुसार आज १० लाख खोपको डोज नेपाल आइपुग्ने बताए ।
उनले आज दिउँसो साढे १ बजे भारतको राजधानी दिल्लीबाट एयर इन्डियाको विमानमा खोप नेपाल आइपुग्ने बताए ।
सह प्रवक्ता डा. अधिकारीले फागुन २३ गतेबाट सुरु हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यस्थापन केन्द्रमार्फत् जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने पनि जानकारी दिए ।
सम्झौता बमोजिम बाँकी खोप उत्पादकहरुसँगको आपसि सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने र आपूर्ती तालिका अनुसार नेपालले प्राप्त गर्ने उनले उल्लेख गरे