आयुर्वेद चिकित्सकको परामर्श शुल्क पनि बढ्यो
काठमाडौं, ७ फागुन । नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद चिकित्सक काउन्सिलमा दर्ता भएका चिकित्सकले लिने परामर्श शुल्क बृद्धि गरेर लागु गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकले ओपिडी शुल्क बढाएकोमा आपत्ति जनाइरहेको समयमा आयुर्वेद चिकित्सकले समेत यस्तो निर्णय गरेको छ ।
नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार सूचना जारी गर्दै आयुर्वेद चिकित्सक काउन्सिलमा दर्ता भएका चिकित्सकले लिने परामर्श शुल्क बृद्धि भएको जानकारी दिएको छ। संघले बढेको शुल्क आजदेखि नै लागू हुने पनि जनाएको छ।
संघका अनुसार बिएएमएस तहको शैक्षिक योग्यता पूरा गरेर ५ वर्षभन्दा कम अनुभव भएकाले ३७० र सोभन्दा बढी अनुभव भएकाले ४५० रुपैँया परामर्श शुल्क लिने निर्णय गरेको छ ।
त्यसैगरी विशेषज्ञतर्फ ५ वर्षसम्म शैक्षिक योग्यता भएकाले ६६०, ५ वर्षदेखि १० वर्षसम्म कार्यअनुभव भएकाहरुले ७०० र १० वर्षभन्दा बढीको अनुभव भएका विशेषज्ञले ८२५ परामर्श शुल्क लिने निर्णय गरेको छ ।