दाङको लमहिमा रक्तसञ्चार केन्द्रको स्थापना
दाङ, ५ फागुन । दाङको लमहिमा रक्तसञ्चार केन्द्रको स्थापना भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आज लमहिमा रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका हुन् ।
लमहिमा रक्तसञ्चार केन्द्रको संचालन सँगै लमहि अस्पतालमा आउने देउखुरी क्षेत्रका बिरामीलाई सहज हुने देखिएको छ । रगतको अभावसँगै यस क्षेत्रका बिरामी अन्यत्र जानु पर्ने वाध्यता रहेको थियो ।
कार्यक्रमा बोल्दै मुख्यमन्त्री पोख्रेलले देउखुरी क्षेत्रमा रक्तसञ्चार केन्द्रको आवश्यकता बढी भएको बताए । उनले भने ‘प्रदेशको सबै भन्दा ठूलो ट्रमा सेन्टर लमहिमा बन्दैछ, जसका लागि पनि भविस्यमा रगतको आवश्यकता पर्छ ।’
रक्तसञ्चार केन्द्रको उद्घाटनसँगै मुख्यमन्त्री पोख्रेलले रक्तसञ्चार केन्द्रको भवनको समेत शिलान्यास गरेका छन् । उक्त भवन निर्माणको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ ।
हाललाई लमही नगरपालिकाले सर्पदशं उपचार केन्द्रको लागी निर्माण गरेको भवनको माथिल्लो तलामा रक्त सञ्चार केन्द्र संचालमा आएको हो ।