अबदेखि २९ वटा सरकारी प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न पाउने 



Download our app to get more features

काठमाडौ, ५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षण गर्ने सरकारी प्रयोगशालाको संख्या घटाएको छ।
स्वास्थ्य मन्त्रलायले देशभरका ४८ प्रयोगशालामा हुँदै आएको कोरोना परीक्षण अब २९ वटा प्रयोगशालामा हुने गरी खुम्च्याएको छ। तर ३५ वटा निजी प्रयोगशालामा हुँदै आएको परीक्षण भने यथावत राखिएको छ। 

मन्त्रालयले सरकारी तर्फको प्रयोगशालाको संख्या मात्र घटाएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को आज बसेको बैठकले अबदेखि देशभरका २९ वटा प्रयोगशालामा मात्र परीक्षण गर्ने निर्णय गरेको बताए।

उनले तोकिएका २९ वटा प्रयोगशालालाई मात्र स्वास्थ्य सेवा विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आवश्यक सामग्रीको व्यवस्थापन गरिने समेत बताए । हालसम्म देशभर सरकारीसहित ८३ वटा प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन्।

यस्तै,  स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल र  प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्ने व्यवस्था गरेको छ।

प्रदेश २ मा नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्ने प्रवक्ता गौतमले बताए। 

बागमती प्रदेशमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल, भरतपुर अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, हेटौँडा अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, प्रहरी अस्पताल र सशस्त्र प्रहरी अस्पतालले मात्र पिसिआर परीक्षण गर्नेछन्। 

यस्तै, गण्डकी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बागलुङ अस्पताल, लुम्बिनी प्रदेशको भेरी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यसको सूचीमा छन्। 

कर्णाली प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र डडेल्धुरा अस्पतालको पिसिआर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ। 

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणबाट हात झिकेको भन्ने आलोचना भइरहेको समयमा मन्त्रालयले यस्तो निर्णय गरेको छ।

Last modified on 2021-02-18 14:01:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts