नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार नाघ्यो, थप ९१ जना स्वस्थ
काठमाडौं, ५ फागुन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ४ सय ३८ पिसिआर परीक्षण गर्दा थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ सम्बन्धी राष्ट्रिय अद्यावधिक जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुुुुुगेको बताए ।
यस्तै गत २४ घन्टामा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रवक्ता डा. गौतमले हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको बताए । यो दर कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो ।
यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २१ रहेको छ । जसमा ९ सय ९१ जना होम आइसोलेसनमा छन् भने ६ सय ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हाल नेपालभर ७२ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेदर शून्य रहेको छ ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने ६१ जना आईसीयूमा उपचार गराइरहेका छन् ।